खानेपानीले फर्कायाे यांग्री गाउँको खुसी

सिन्धुपाल्चोक — खानेपानीकै लागि खोलामै जान हानथाप । अझ बर्खायाममा खोलामा बाढी आएर धमिलो पानी बगेपछि पानी खोज्न अर्को गाउँ भौतारिनुपर्‍थ्यो । यांग्री र लार्के खोलाको पानी सिधै पिउँदा हैजा, झाडापखाला र छालासम्बन्धी रोगले कतिपय बिरामी पर्थे ।

भूकम्पपछि त झनै खोलासम्म जाने बाटोसमेत ध्वस्त भयो । जिल्लाको दुर्गम भेग पाँचपोखरी थाङपाल गाउँपालिका–२ स्थित यांग्री र लार्के नदीको तटभेगमा रहेको यांग्रीका बासिन्दाले खानेपानीको अभावमा व्यर्होनुपरेका दुःख हुन् यी ।

यांग्री पल्लो छेउकी ४८ वर्षीया सुकुमाया बिक अहिले हर्षित छिन् । उनको आँगनमै बनेको व्यवस्थित धारामा खानेपानी आइपुगेको छ । ‘त्यतिबेला जे भयो भयो, अब सुर्ता छैन । पहिलेजस्तो पानीकै लागि गाउँगाउँ दौड्नुपर्दैन, खेतबारीमा चाहेजस्तै गरी तरकारी लगाउन सक्छु,’ विकले भनिन् । वर्षौदेखि पानी अभावको मार झेलिरहेकी उनले पानीले सिंगो गाउँका बासिन्दाको अनुहार उज्यालो बनाएको सुनाइन् ।

वर्षौपछि सफा पानी पाएपछि खुसी फर्किएको अनुभव गरेकी यांग्रीकी ३७ वर्षीया रिना स्याङ्बो दंग छिन् । वर्षौअघि गाउँको शीरमा एउटा पुरानो धारा थियो । त्यसबाट पानी आउन बन्द भएपछि स्थानीय खोलामा पानी लिन जान बाध्य भएको उनले बताइन् । ‘खोलामा पानीसँगै बालुवा आउँथ्यो, नउमाली खानै मिल्दैनथ्यो । पानीकै कारण धेरै समस्या व्यर्होनुपर्थ्यो, कति पटक त बिरामी पर्यौं,’ स्याङ्बोले भनिन्, ‘अब भने घरमै पानी आएपछि आनन्द लागेको छ ।’

प्रसिद्ध धार्मिकस्थल आमायांग्रीबाट झरेको यांग्री र पाँचपोखरीबाट आएको लार्के खोलाको तटभेगमा रहेको यो गाउँ कच्ची सडक र झोलंगे पुलले जोडेको छ । जनहित नेपालका कार्यकारी निर्देशक राजेन्द्र शर्माकाअनुसार इटालियन संस्था एसियाको सहयोगमा ३८ लाख बजेटमा एक विद्यालयसहित ४७ घरधुरीमा एक घर/एक धारा बनाइएको छ ।

माथिल्लो भीरपहरामा रहेको मुहानबाट पानी ल्याइ १८ हजार घनमिटर क्षमताको ट्यांकीमा पानी जम्मा गरेर प्रत्येक घरका लागि पानी वितरण गरिएको शर्माले बताए । भाद्र महिनाबाट सुरु गरिएको योजनाले तीन सय जनसंख्या लाभान्वित भएको छन् ।

सोमबार धारा र खानेपानीको निरीक्षणमा पुगेका जनहित नेपाल र इटालियन संस्थालाई स्थानीयले सम्मान गरेका थिए । खानेपानी योजनाका अध्यसमेत रहेका स्थानीय बाबुराम स्याङ्बोले खानेपानीको सुरक्षा, सरसफाई र खानेपानीको पाइप मर्मतसम्भार गर्ने तरिकाबारे पनि सिकेको बताए । दुई खोलाको कटान र माथिल्लो भेगबाट पहिरोको सामाना गरिरहेका स्थानीय अहिले करेसाबारीमा तरकारी लगाउन जुटेका छन् ।

प्रकाशित : माघ १६, २०८० २२:४८