कुबिण्डेमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय ३० ले पाए सेवा

चौतारा । कुविण्डेका ३ सय ३० जनाले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।

कुविण्डे स्वास्थ्य चौकीको आयोजना, जनहित ग्रामिण सेवा समितिसँगको समन्वय र नेपाल वाइलिंग्रीसको सहयोगमा कुबिण्डे स्वास्थ्य चौकीमा आज निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

गाँउमा नै शिविर आयोजना गरिएपछि स्थानीयले गाउँमै विज्ञ डाक्टरबाट सेवा पाएपछि उनीहरू निकै खुसी भएका छन् ।

शिविरमा ७ वर्षका वालक देखी ८४ वर्षिया बृद्धबृद्धाले शिविरमा हाड जोर्नी,स्त्रीरोग र सर्जरीको सेवा पाएका छन् । निःशुल्क स्वास्थ्य शिविर बिहान ११ बजे देखि साँझसम्म सञ्चालन भएको जनहित ग्रामीण सेवा समितिका अध्यक्ष भरत सापकोटाले जानकारी दिए ।

शिविरमा सुमेरु सिटी अस्पतालका चिकित्सकहरू , आवश्यक कर्मचारी र सहयोगी संस्थाका नेपाल प्रतिनिधि एवं कार्यक्रम निर्देशक सुनिलकुमार श्रेष्ठको सहभागिता सहभागिता रहेको थियो ।

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै नगर  प्रमुख अमानसिं तामाङले स्वास्थ्य मानिसको प्रमुख पक्ष भएकोले जसरी कुखुराले मुसल धारे झरीको अवस्थामा आफ्नो चल्लालाई ढाकेर राखी सुरक्षा दिन्छ त्यसैगरि नेपाल वाइलिंग्रीसले कुबिण्डेको समुदायको सेवक बनेर पुनीत कार्य गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गरेका छन् ।