अल्पसंख्यक ह्योल्मो ‘मर्चेगुम्बा’भित्र

Spread the love

https://www.karobardaily.com/news/lifestyle/16243?fbclid=IwAR2mJQiF-iR212y7LlPmkvCE79hbK1O_J4vU1jvrDNOVfabDje6NZlhJ9Lw

किशोर बुढाथोकी
(हेलम्बु) सिन्धुपाल्चोक, २१ माघ
हेलम्बुमा रहेका अल्पसंख्यक ह्योल्मो जातिहरु अबको एक महिनाभित्र मर्चेगुम्बाका शैलीमा निर्माण गरिएको घरभित्र बस्न पाउने भएका छन् । पर्यटकीय गाउँ हेलम्बु गाउँपालिकास्थित तेम्बाथानमा ह्योल्मो संस्कृति झल्कने एकिकृत बस्ती निर्माण अन्तिम चरणमा पुगेकाले ह्योल्मोहरुले चिसो टहराबाट मुक्ति पाउने भएका हुन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई हेलम्बुप्रति थप आकर्षित गर्नका लागि निर्माण गरिएको मर्चेगुम्बा शैलीको बस्ती निर्माण अब महिनादिनभित्रै समुदायलाई हस्तान्तरण गरिन लागिएको हो । पहिले बस्दै आएको पुरानो थातथलो जोखिम भएकाले बिस्थापित भएका ४४ परिवारका लागि गएको माघबाट एकिकृत बस्ती निर्माण सुरु गरिएको थियो । भूकम्पपछि बिस्थापित भएका हेलम्बु गाउँपालिका टासिथाङ्का, नादुङका, ऐम्बालामाका, फादुङका, घ्याङ्गुलका विस्थापित परिवारका लागि एकिकृत बस्ती निर्माणको थालनी गरिएको हो ।
विस्थापितहरु भूकम्पअघि पनि आफ्नै जातिको संस्कृति झल्कने घरमा बसोवास गर्थे । भूकम्ले घर भत्काएपछि सुरक्षित आवास खोजिरहेका उनीहरु एकिकृत बस्ती अन्तिम चरणमा पुगेपछि खुशी छन् । ‘भूकम्पपछि परम्पराअनुसार पूजा गर्न निकै कठिन भयो, टहरामा बस्न पनि निकै समस्या थियो,’ स्थानीय निमा लामाले भनिन्, ‘अब भने फेरि खुशी फर्किएको छ ।’ पुरानो ठाउँबाट विस्थापित भएर आएकी उनी अब आफ्नो छिमेकी र आफ्नो घर उस्तै भएको देख्दा दंग छिन् । पहिले बसेको ठाउँमा भिर छ । भूकम्पले जमिन धाँजा फाटेको छ । ‘कुनै पनि बेला भीर खस्न सक्छ, त्यसैले यहाँ आएर बस्नुपरेको हो ।’ उनले सुनाइन् ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामको आर्थिक र जनहित ग्रामीण सेवा समितिको प्राविधिक सहयोगमा बस्ती निर्माण सुरु गरिएको हो । बस्ती विकासका लागि हेलम्बु गाउँपालिकाको समन्वय छ । स्थानीय सांगे लामा ह्योल्मोको अध्यक्षतामा तेम्बाथान एकिकृत बस्ती विकास परियोजना गठन गरी बस्ती निर्माण सुरु गरिएको थियो ।
निर्माणाधिन बस्तीका २३ घरको छाना लगाइसकिएको छ । ह्योल्मो संस्कृति झल्कने झ्याल अबको एक हप्तामा सबै घरमा फिट भइसक्ने बस्ती विकास परियोजनाका अध्यक्ष सांगे लामा ह्योल्मोले बताए । ‘भूईं ढलान १७ वटा घरको सकिएको छ, वाल पुटिङ हामी आफै लगाउँछौं ।’ उनले भने । एकिकृत बस्तीभित्र सबै घरहरु स्थानीय ह्योल्मो समुदायको ‘मर्चेगुम्बा’ शैलीको रहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । निर्माण गरिने तीन कोठे घर एक तल्लाको छ । एकै रङको जस्ताले छाइने घरको झुयाल, ढोकामा ह्योल्मो संस्कृति झल्कने बुट्टा कँुदिएकाले आकर्षक देखिएको छ । ‘घरको अगाडितर्फको झ्याल र ढोका ह्योल्मो संस्कृतिको पहिचान झल्कने खालकोे छ,’ अध्यक्ष शेर्पाले भने ।
घरमा लगाइएको गाह्रोमासमेत स्थानीयस्तरमै उत्पादन हुने इन्टरब्लक प्रयोग गरिएको छ । इन्टरब्लक ईट्टा मेसिनमा पकाएर उत्पादन गरेको चलनचल्तीको रातो ईट्टाभन्दा सुलभ र बातावरण मैत्री हुने हुँदा त्यसैको प्रयोग गरिएको हो । ‘माटो, बालुवा र सिमेन्टको मिश्रणबाट बनेको ठूलो आकारको एउटा इन्टरलक इट्टाले अन्य चारवटा सामान्य इट्टाको काम गर्छ,’ जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भने, ‘ ।इन्टरलक इट्टाको प्रयोगले घर भूकम्प प्रतिरोधी हुनुका साथी वातावरणमैत्री बनेको छ ।’ हरेक घरमा धारा र शौचलय निर्माण गरि छुट्टै खानेपानी व्यवस्थासमेत मिलाइएको उनले बताए ।
एउटै काठको झ्यालको ८० हजार
एकिकृत बस्तीका घरमा राखिएको एउटै झुयालको लागत ८० हजार रुपैयाँ रहेको छ । काठबाट निर्मित ह्योल्मो संस्कृति झल्कने एउटा झ्यालको मूल्य तयार पार्दा ८० हजार खर्च भएको हो ।
भूईंचालोले घर ढाल्दा सबै घरका झ्याल भाँच्चिएका थिए । सम्पदा, सस्कृति लोप हुने डरले नयाँ बन्ने बस्तीमा पुरानै शैलीको झ्याल राख्न गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले अनुरोध गरेका हुन् । झ्यालमा ह्योल्मो समुदायको भाषा, देउताको मुर्ती, पूजा गर्ने मन्त्रहरु कुँदिएको हुन्छ । कालिगढले झ्याल कुँदेको भएकाले लागत महंगो पर्न गएको हो ।
‘ह्योल्मो जातिको सम्पदा, संस्कृति लोप हुने अवस्थामा पुग्यो,’ अध्यक्ष शेर्पाले भने, ‘पुनर्निर्माणको समयमा यसलाई बचाउन पुरानै शैलीको झ्याल कुँद्न लगाइएको हो ।’ उनले झ्यालकै कारण पर्यटन प्रवद्र्धन हुनुका साथै ह्योल्मो सस्कृति बच्ने दावी गरे । ‘यस्तो झ्याल कतै पाइदैंन, हेलम्बुमा ह्योल्मो झ्याल पाइन्छ भन्ने आधार पनि रहन्छ ।’ उनले भने ।
यो झ्याल बनाउन गाउँमा जनशक्ति थिएन । स्थानीय एक जनाले मात्रै झ्याल बनाउन जान्ने भएपछि अन्य दश जनालाई तालिम दिइएको थियो । समितिका अध्यक्ष सांगेकाअनुसार घरमा गर्नुपर्ने पूजाआजा गर्नुपर्दैन । ‘हाम्रो संस्कृति अनुसार डोल्माकुरिम (पूजा) गर्नुपर्छ, यो झ्याल राखेपछि गर्नुपर्दैन,’ उनी भन्छन्, ‘यो पूजा विधिमा गर्नुपर्ने सबै मन्त्रहरु झ्यालमा कुदिएको हुन्छ ।’

फोटो १ ः हेलम्बुको तेम्बाथानमा निर्माणाधिन ह्योल्मो संस्कृति झल्कने एकिकृत बस्ती ।
तस्बीर, किशोर बुढाथोकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *