२३ खानेपानी योजना समुदायलाई

Spread the love

२३ खानेपानी योजना समुदायलाई

ध्रुव दङ्गाल
सिन्धुपाल्चोक, मंसिर २२

https://nagariknews.nagariknetwork.com/news/63878/?fbclid=IwAR2rZ79n5VQMtPpbO0cL4XnsLSUkTduCK7KpmlV07tSBmBNJ7e_XqOO5LDc
भूकम्पपछिको पुनर्निर्माणलाई सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम नेपालले जिल्लामा २३ वटा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ ।
नेपाल भूकम्प पुनर्लाभ तथा पुनर्निर्माण अन्तर्गत तीन संस्थासँग साझेदारी गर्दै सात स्थानीय तहमा आयोजना बनेका हुन् । दुई वर्ष लगाएर बनाइएका खानेपानी आयोजनामा झण्डै ६ करोड ११ लाख रुपैयाँ खर्च भएको अक्सफामले जनाएको छ । आयोजनाबाट जुगल, भाटेकोसी, त्रिपुरासुन्दरी, हेलम्बु गाउँपालिका तथा बाह्रविसे, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिका २ हजार २ सय ८७ परिवारका १२ हजारभन्दा बढी जनसंख्यामा खानेपानी पहूँच पुगेको स्थानीय साझेदार संस्था जनहित ग्रामीण सेवा समितिका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले बताए । उनका अनुसार ४ सय १७ धारबाट स्थानीयले आँगनमै सुविधा लिइरहेका छन् । ‘सबैधारा अपांगमैत्रीसमेत छन्,’ उनले नागरिकसँग भने ।
भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा खानेपानी क्षेत्रमा समेत ठूलो क्षति पुगेको थियो । साना–ठूला झण्डै ६ सय खानेपानी योजना क्षतिग्रस्त भएका थिए । भूकम्पले मूल सुकाउँदा र पानी स्रोत दबाउँदा सुरुका ६ महिना खानेपानीको हाहाकारै मच्चियो । अहिले अधिकांश क्षतिग्रस्त आयोजना निर्माण भइसकेका छन् ।
भूकम्पपछि बनेका आयोजनाले खानेपानी सुविधा मात्र नदिएर पुनर्निर्माणलाई सघाइरहेको स्थानीय बताउँछन् । खानेपानी जोरजाम गर्ने जिम्मेवारीमा रहेका महिलाले आयोजनाबाट बढी लाभ पाएका छन् । ‘पानीको जोहो गर्न टाढा जानुपर्ने बाध्यता हटेको छ,’ कदमवास सिरानचौरकी उपभोक्ता चन्द्रकला पहरीले भनिन् । बाक्लो मगरबस्ती रहेको यो गाउँमा जनहितमार्फत मुलावारी कोदारी खानेपानी आयोजना बनेको थियो । चार पानी संकलन ट्यांकीमार्फत र २९ धारा वितरण गरिएपछि गाउँका महिला हाँस, कुखुरा र बंगुर पालनमा आकर्षित भएको आयोजनाका सचिव डोलबहादुर मगरले बताए ।
अक्सफामसँगको साझेदारीमा जनहितले मात्रै १२ खानेपानी आयोजना निर्माण गरेको छ । यसमा झण्डै २ करोड ७५ लाख रुपैयाँ लगानी भएको कार्यक्रम संयोजक न्यौपाने बताउँछन् । त्यस्तै ग्रामीण महिला सिर्जनशील परिवारले सात र महिला आत्मनिर्भरता केन्द्रले चार आयोजना बनाएका छन् । ती आयोजनामा क्रमशः १ करोड ८२ लाख र १ करोड ५४ लाख रुपैयाँ लगानी भएको सहयोगी संस्था अक्सफामले जनाएको छ । ग्लोबल अफेयर्स क्यानडा उसको मुख्य दाता हो ।
१९ पक्की शौचालय
खानेपानीसहित सरसफाईको क्षेत्रमा समेत काम गरिरहेको अक्सफामले विभिन्न विद्यालय र सार्वजनिक गरी १९ पक्की शौचालय बनाएको छ । १६ विद्यालय र तीन सार्वजनिक स्थलमा शौचालय बनेका हुन् । विद्यालय शौचालयमाबाट मात्रै ४ हजार विद्यार्थी तथा शिक्षक लाभान्वित भएका छन् ।
साझेदार संस्था जनहितले १२, सिर्जनशीलमार्फत तीन र आत्मनिर्भता केन्द्रले चार शौचालय बनाएका हुन् । शौचालय निर्माणमा मात्रै झण्डै १ करोड २९ लाख रुपैयाँ खर्च भएको अक्सफामले जनाएको छ । विद्यालय शौचालय ‘सेनिटरी प्याड’ सहित ‘इन्सिनेटर’ जडित अपांगमैत्री छन् ।
सेनेटरी प्याडसहित इन्सिनेटर (प्याड फाल्नेस्थल) को व्यवस्थाले महिनावारीका बेला हुने छात्राको अनुपस्थिति रोकेको कुविण्डेस्थित सेतीदेवि पञ्चकन्या माविका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले बताए । ‘महिनावारीका बेला अब घरमै बसिरहनु परेन । सबै छात्रा नियमित पढ्न आउन थालेका छन्,’ अक्सफामकै सहयोगमा केही महिनाअघि आधुनिक शौचालय बनेपछियता उनले अनुभव सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *